दीप्स शाह संग एकै-पल deepssanu

---म त देशकी छोरी हुँdeepssanu
ए! सुन्यौ!??
एकधरो च्यातिएको स्वाभिमान
टाल्न नसक्ने
एकपाखो उध्रिएको मन
सिउन नसक्ने
हृदयका बन्जर बगरहरुमा
सँधै जिंग्रिङ्गग क्याक्टस उमारेर
कुन मुखले माग्छौ तिमी
म संग मेरा मोतिजडित मायाका लहरीहरु??`
म त देशकी छोरी हुँ
माटो छोएर तिमीलाई वचन दिन्छु
कि,,आउ! यो एक फोक्टा कलेजो
तिम्रै नाममा नामसारी गरिदिन्छु
तर भन्न सक्छौ
तिमी भित्र देश दुख्ने छाती छ भनेर?उफ!
जिन्दगीको उकालो टेक्दाटेक्दै
पाइलाहरु बिचैमा तर्सिने
श्रमको कठिन् यात्राहरुमा चुकेर

आधिबाटै बाट फर्किने
काँतर मनको त्रसित पाखोमा
सँधै सम्भाबित दुर्घटनाको चिसो डर च्यापेर
कुन शब्दले माग्छौ तिमी
म सँग मेरा अटल विश्वासका भकारीहरु??
म त देशकी छोरी हुँ
हिमालको पानी छोएर तिमीलाई वचन दिन्छु
कि,,आउ!
यो पवित्र हृदयनै
एकमुष्ट सुम्पिदिन्छु
तर भन्न सक्छौ
तिमी भित्र देश धड्कने मुटु छ भनेर? दिउंसै,करेसामै पराइले आची गर्दो छ
सुँघेर हत्केलाले नाक पुछ्ने
गुन्युको धाँजाबाट
आमाको लाज चिहाउंदो
चुपचाप तर्केर
नदेखेझैँ गर्ने
बाबाको कछाड कमिजको टुक्रो
निर्लज्ज हाटमा लीलाम तोकेर
कुन हैसियतले माग्छौ
म संग कुर्मिको छाँगो झैँ निर्झर जवानी?
म त देशकी छोरी हुँ
लालिगुराँश चुमेर तिमीलाई वचन दिन्छु
कि,,आउ!
यो जिन्दगीको बहिखातामा
तिम्रै नाम लेखिदिन्छु
तर भन्न सक्छौ
तिमी संग देश बोक्ने काँध छ भनेर? नत्र...
तिमी हेरेरै बस्नु
यो लालिगुरांशे जवानी
यो माया भरिएको मुटु
यो तराइको फाँट झैँ
सुरम्य हृदय
हिमालको पानी झैँ
कञ्चन पवित्र मनहरु
आकाश छुने गिरीझैं अटल विश्वाश
यो अंगंगमा मग्मगाएको बेलिचमेली
सिम्रिकझैँ राताम्य ओठका लालीहरु
यसै सुकिजाउन् मैले टेकेको माटोमा
तर तिमीले झैँ
स्वाभिमानी बैँश
दासतामा म कदापी लीलाम गर्ने छैन
म त देशकी छोरी हुँ
सुन्यौ??
त देशकी छोरी हुँ।

दीप्स शाह
deepssanu@gmail.com


म पनि देश को छोरो हूँ
ए सुन्यौ ?
म स्वाभिमानी सपुत हूँ
न टाल्नु पर्छ
न सीउनु नै पर्छ
किनकि यो स्वाभिमान .....
धाजो फाट्ने खेत हैन
खहरे ले बगाउने बगर हैन
त्यसैले म छाती फुलाएर भन्छु
तिमि जस्ती एक देश कि कर्मठ छोरी लाई
के तिमि मलाई मोति जडित माया का लहर हरु दिन्छौ ?
म देश को छोरो हूँ
देश मेरी आमा हुन
त्यसैले म आमा लाई नै छोएर कसम खान्छु
कृपया नाई नभन ल !
तिम्रो त्यो मन को मन्दिर मेरै नामसारी गरिदेउ
अनि म भन्ने छु म भित्र देश दुख्ने छाती छ भनेर
जिन्दगि को रफ्तार भित्र
कहिले लेक अनि कहिले बेशी
ति कर्मठ यात्रा हरु भित्र न कहिल्यै चुक्नेछु
न कहिल्यै झुक्नेछु
त्यसैले म साहसी का साथ भन्छु 
के तिमि मलाई बिश्वास का भकारीहरु दिन्छौ ?
म देश को छोरो हूँ
यो पूर्ण साहस नै सुम्पिदिन्छु 
तर तिमि नाइँ नभन ल !!!!!
किनकि 
म भित्र यो देश धड्कने मुटु  
बिहानी होस् या प्रभात मा 
मेरो हैन हाम्रो करेशा मा
नजर पनि लाउन दिने छैन 
आमा को लाज  झन् 
यी आँखा ले हैन 
प्रकास को लिप्त किरण ले चिहाए पनि
नष्ट गर्ने सहस छ म भित्र 
बाबाको कमिजको लिलामी को त के कुरा 
नाम मात्र लिए पनि....
भुली दिनेछु  मानब हो भनेर 
त्यसले म मुटु देखि माग्छु 
के तिम्रो छागो झैँ निर्झर जवानी दिन्छौ भनेर ?
म देश को छोरो हूँ 
म आफ्नै रगत छोएर कसम खान्छु 
यदि तिमि हुन्छ भन्छौ भने 
यो देश मात्र हैन संसार बोक्ने काध छ म संग 
तिमि नाई भन्छौ भने
मेरा सब्द लाइ बलात्कृत गर्छौ भने
अनि हरेक मेरा प्रेम बर्णन लाइ
तिमि लत्याउन चाहन्छौ भने
म संग चट्टान सरि मुटु पनि छ
आफ्नो स्वाभिमान तिम्रो पछी लगाउन चाहन्न
तिमि लाई बैशको त्यति नै रवाफ छ भने
म हेरेर नै काट्नेछु जिन्दगि
तर देश अनि नरेश भुल्ने छैन
किनकि देश मेरी आमा
अनि नरेश मेरा पाखुरा हुन्
म त देश को छोरो हूँ
सुन्यौ ????
म त देश को छोरो हूँ |||

कुमार यात्री

kumaryatri@gmail.com


1 comment:

  1. कुमार यात्री जी तपाई को गजल त पढेको थिए धेरै राम्रो लाग्थ्यो तर कविता को बारेमा थाहा थिएन, आज थाहा भयो | कविता त गजल भन्दा पनि धेरै राम्रो लेख्नु हुदो रैछ | अनि धन्यवाद दीप्स शाह जी लाई आज तपाई ले गर्दा एकै पटक दुइ वटा सिर्जना पढ्न पाइयो |

    ReplyDelete