आफ्नो इच्छा अनुसार को बच्चा जन्माउन को लागी यो चार्ट अवश्य प्रयोग गर्नु होला |
कृपया यो चार्ट ठुलो पारेर हेर्न को चार्ट मा क्लिक .... गर्नु होला |
जन्डिस सम्बन्धी जानाकारी डा. सुधांशु केसी
नेपालमा जन्डिसको प्रकोप वर्षभरि नै रहे पनि वर्षायामको सुरुवातसँगै एक प्रकारको जन्डिस देखा पर्छ । जन्डिसको शंका लाग्नेबित्तिकै खाना बार्ने काम सुरु हुन्छ र यो प्रक्रिया ६ महिनादेखि वर्ष दिनसम्म जारी रहन्छ । समाजमा जन्डिसबारे सयजना मानिसले पाँच सयथरीका कुरा सुनाउने गर्छन् । अत्तालिएर अनेक किसिमका उपचार पद्धति अपनाउँदा गलत उपचार गरेर बिरामीको अवस्था झन् बिग्रन पनि सक्छ । तसर्थ, यस सम्बन्धी सही र गलत धारणा बारे जानकारी राख्नु सबैका लागि अत्यन्त जरुरी देखिन्छ । जन्डिसका लक्षण जन्डिस कुनै रोग नभई विभिन्न रोगमा देख्न सकिने लक्षण मात्र हो । जन्डिस कलेजोको रोग भन्ने अवधारणा जनमानसमा पाइएको छ । रगतमा विलिरुविनको मात्रा बढेर आँखा पहेँलो हुनु, शरीर पहेँलो हुनुलाई जन्डिस भनिन्छ । वयस्कमा विलिरुविन “एक” हुनु र “पाँच” हुनुमा कुनै फरक पर्दैन । विलिरुविन बढ्दै गएमा विलिरुविन बढाउने रोग बढ्दै गइरहेको हुन सक्छ । जन्डिस र कलेजो जन्डिस कलेजोको मात्र रोग होइन । कलेजोका विभिन्न रोगहरूमा जन्डिस लक्षणको रूपमा देखिन्छ । कलेजोको रोग बाहेक केही रगतको रोगमा, पित्तको नलीमा पत्थरी भएमा, पित्त-नलीको क्यान्सर भएमा, प्यान्क्रियाज ग्रन्थीको क्यान्सरमा, अरू अंगको क्यान्सर कलेजोमा फैलिएमा हुन सक्छ । जन्डिस र आयुर्वेद धेरै मानिसमा के भ्रम छ भने, जन्डिस आयुर्वेदले ठीक पार्ने रोग हो । अरू सबै रोगमा एलोप्याथीलाई विश्वास गरे पनि आँखा पहेँलो देख्नेबित्तिकै त्यो विश्वास डग्मगाउँछ र आयुर्वेद शरणमा जाने गर्छन् । जन्डिसको कुनै उपचार गर्नु पर्दैन । उपचार त जन्डिस गराउने रोगको गर्नुपर्छ । रोग निको भएमा जन्डिस आफैं निको हुँदै जान्छ । त्यसैले Bilirubin एकभन्दा माथि देखिने बित्तिकै उपचारका लागि दौडिनु र उपचार गरिदिनु दुवै गलत कुरा हो । जन्मजात रोग गिलबर्ट सिन्ड्रोम, क्रिगलर नाजार सिन्ड्रोम, डुबिन जोनसन सिन्ड्रोम, आदिमा Bilirubin बढी भए पनि कुनै उपचार गर्नुपर्दैन । अन्यथा जन्डिस गराउने सबै किसिमका रोगको उपचार एलोप्याथिक उपचारमा छ । जन्डिस र खानपिन हाम्रो समाजमा जन्डिस भन्ने बित्तिकै गाजर, मुला, काँक्रो, उखुको रस र मेवा पर्यायवाची नै भइसके । उसिनेको खाना, नुन नहालेको वा कम हालेको र बेसार नहालेको खाना प्रायः जन्डिस भएका व्यक्तिको खाना भइसकेको छ । जुनसुकै कारणले जन्डिस भए पनि यो क्रम प्रायः ६ महिना वा त्यसभन्दा बढी चलेको पाइन्छ । खाना बार्नाले हानी हुन सक्छ । क्यान्सरको कारणले जन्डिस भएमा त्यसमा खाना बारेर ठीक होला त ? जुनसुकै कारणले जन्डिस भए पनि बार्नुपर्ने एउटै कुरा हुन्छ- रक्सी र रक्सीजन्य पदार्थ । अनि, कम गर्नुपर्ने कुरा चिल्लो पदार्थ हो । किनभने चिल्लो पदार्थ पचाउन पित्तले मद्दत गर्छ र जन्डिस भएको अवस्थामा चिल्लो पदार्थको पाचन समस्या केही हदसम्म देखिन्छ । जन्मजात जन्डिस र रगतको रोगको कारणले भएको जन्डिस (हेमोलाइटिक जन्डिस) मा कुनै किसिमको खाना बार्न जरुरी हुँदैन । पिरो र अमिलो खानेकुराको जन्डिससँग कुनै सम्बन्ध छैन । जन्डिस र हेपाटाइटिस जन्डिस लामो भयो भने हेपाटाइटिस, त्यसमा पनि हेपाटाइटिस ‘बी‘ हुन्छ भन्ने अवधारणा जनमानसमा पाइन्छ । हेपाटाइटिस भनेको कलेजोको रोग हो । यस अवस्थामा जन्डिस देखिन सक्छ । तर, जन्डिसको कारणले हेपाटाइटिस भने हुँदैन । क्यान्सर अथवा पत्थरीको कारणले पित्तको नली लामो समयसम्म बन्द भएमा त्यसले कलेजोको रोग निम्त्याउन सक्छ । जन्डिस र पानी सामान्य अवस्थामा भन्दा जन्डिस भएको वेलामा बढी पानी अथवा झोल पदार्थको जरुरत पर्न सक्छ । तर, यो सबै रोगमा लागू हुँदैन । जस्तै- कलोजोको सिरोसिस भएको वेलामा देखिने जन्डिसमा पानी धेरै पिउनाले पेटमा पानी जम्ने, खुट्टा सुनिने हुन सक्छ । मुटुको रोगको कारणले कलेजो सुन्निएर जन्डिस देखापरेको अवस्थामा पनि धेरै पानी हानिकारक हुन सक्छ । यदि पानीबाट सर्ने हेपाटाइटिस ‘ए‘ र ‘ई‘ को कारणले गर्दा जन्डिस भएमा दिनको २-३ लिटरसम्म पानी अथवा झोल पदार्थ पिउँदा राम्रो हुन्छ । थप १० लिटर पिएर अधिक फाइदा पक्का हुँदैन । जन्डिस र यौनसम्पर्क जन्डिस र यौनसम्पर्कको कुनै सम्बन्ध छैन । यदि हिपाटाइटिस ‘बी‘ र ‘सी‘ को कारणले जन्डिस भएको छ भने पुरुषले कन्डोम प्रयोग गर्दा सर्ने समस्या न्यूनीकरण हुन्छ । [लेखक नर्भिक हस्पिटल, थापाथलीका कलेजो रोग विशेषज्ञ हुन्।] स्रोतः नया पत्रिका
No comments:
Post a Comment