कबिता
आफैमा जिवन्त बिधा हो । यसलाइ कसैले कसी लगाइ रहनु पर्दैन । अकबरी सुन आखीर अकबरी नै
हो भनेझै कबिता आखीर कबिता नै हो । कबितामा जोडीने बिम्ब हरु संग हत्तपत्त कसैले पौठाजोरी
खेल्न सक्दैन ।देख्नलाइ जती सरल र सहज देखीन्छ कबिता पढ्दै जादा उती धेरै ग्यान दिन
सफल हुन्छ ।त्यसैले पनि यो बिधालाइ युगौ युग डोहोर्याउन जरुरी छ । जसको लागी एउटा अभीयान
सुरु भएको छ पहिलो चरणमा मलेसिया बाट ।मलेसियामा कबि र कबिताको खोजीको अभियान्ता हो
"शब्दहार क्रियशन ।" छोटो समयमा नै नाम कमाउन सफल यो प्रकाशनको प्रोपाइटर
भने रमेश कडेल हुन् । रमेश कंडेल आफै पनि कबि भएकाले साहित्यमा यिनको पहल उच्च देखीन्छ
। बालकोट-६ मा मुख्य कार्यलय बनाइ सुबिधा नगर तिनकुनेमा पुस्तक पसल बनाइ पाठक तथा सर्जक
दुबैलाइ शब्दहार संग जोडिन सहज बनाएको छ शब्दहारले । हाल सम्म यसको चर्चित प्रकाशनमा
निलम कार्की निहारिका को उपन्यास "अर्की आइमाइ",रमेश सायनको कबिता संग्रह "भागेर भुगोल भरी",गणेश खड्काको नाटक संग्रह "थियटर र आखाहरु", झमक घिमिरेको झमको डायरी "समय बिम्ब",अनुपम
रोशीको "कालो छाया" बिधा सापकोटाको कथा संग्रह "निलो तृष्णा",
स्वपनिल निरवको कथा संग्रह "उज्यालो तिर" आदी हुन। यिनै शब्दहार
क्रियशनका संचालकले सुरु गरेको अभीयानको क्रममा रमेश कंडेल लेख्नु हुन्छ ।
"शब्दहार
क्रियशन्सले अन्तर्राष्ट्रिय स्तरमा हरेक देशमा रहेका कविहरुको निश्चित कविताहरु राखी
कविता सङ्ग्रह निकाल्ने योजना बनाएको र शुरुवातमा मलेसियामा रहनु भएका कविहरुको सङ्ग्रह
निकाल्ने निर्णय गरेको हुँदा यसका लागि कवि "निश्चल परदेशी"को संयोजकत्वमा
त्यहाँ नै रहनु भएका कविहरु को कविता संकलन तथा छनौट समिती बनाइएको कुरा अवगत गराउन
चाहन्छौं | आफ्नो कविताहरु यथासक्य उहाँलाई उपलब्ध गराएर सहयोग गरिदिनुहुन
हार्दिक अनुरोध गर्दछौं |
यसको लागि कुनै शुल्क नलाग्ने कुरा पनि यहाँ जानकारी गराउन
चाहन्छौं | साथै उहाले अन्तिम मा लेख्नु हुन्छ दीप दर्शन, हरीहर
कँडेल, कुमार श्रेष्ठ यात्री,बर्षात
दर्लामी,राज अबिरल यात्री हरुलाइ पनि संयोजकलाइ सहयोग गरेर अभीयान
तिब्र बनाउन अनुरोध गर्नु छ ।
उसो त नेपालमा कबि र कबिताको कमी भएर शब्दहारले मलेसियामा
कबि र कबिताको को खोजी गरेको हैन । कबि र कबिता कृतीहरु एक से एक छन् । यसै सन्दर्भलाइ
जोडेर अहिलेको चर्चित नियात्रा कृती "आन्नदभूमीको आगन" का लेखक (नियात्राकार
तथा कबि) प्रतीक ढकाल आफ्नो फेसबुक नोटमा लेख्नु हुन्छ :-
"नेपाली
कविताको बिम्ब-बिधान, अभिब्यक्ति शैली, कौशल र काव्यचेत कसरी दिन-प्रतिदिन सम्म्रिद्ध हुँदै जादैछ भन्ने कुरा बुझ्न
आजका नया युग सम्हाल्ने आँखिझ्यालहरु नै पर्याप्त हुन सक्छन् ।आदिकवि भानुभक्त आचार्यबाट
"लोकको गरुँ हित भनी" सुरु गरिएको नेपाली काव्य-यात्राले अचेल नयाँ मोड,
शैली र बिम्बबिधानबाट निरन्तर लोककै हित गरिरहेकै छ । मोतीरामले भित्र्याएको
'गजल'को फसल अहिले धमाधम पाकिरहेको छ भने त्रिमूर्ति
(कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा) र 'सूधपा' (सूर्यबिक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान)को
योगदानलाई कटाएर नेपाली कवितालाई बुझ्नै सकिँदैन । ईश्वर बल्लभ, मोहन कोइराला र बैरागी काइँलाले अझै पनि विश्वविद्यालयको 'टाउको'लाई 'होमवर्क' दिएका दियै छन् भने युद्धप्रसाद मिश्र, मोदनाथ प्रश्रित,
केवलपुरे किसान, भीमदत्त पन्त, गोकुल जोशी, भवानी घिमिरे, महानन्द
सापकोटा र बिक्रम सुब्बाले काव्यिक आन्दोलन मार्फत सीमान्तीक्रित वर्गको आवाज उठाएका
पाइन्छन् । तर अगमसिङ गिरी र जगन्नाथ गुरागाईले
भने सधैं ज्ञान नै बाँडे । चेतनाकै विस्तार गरिरहे । गुणरत्नमाला र जलेको प्रतिबिम्ब
रोएको प्रतिध्वनि यसैका उदाहरणहरु हुन् ।
मन्जुल,
तुलसी दिवस, अशेष मल्ल, विनय
रावल, दिनेश अधिकारी, तीर्थ श्रेष्ठ,
मनप्रसाद सुब्बा, डा. राजेन्द्र भण्डारी,
राधेश्याम लेकाली, शलभ, बिष्णुबिभु
घिमिरे र कृष्णभूषण बल जस्ता कविहरुलाई पढ्दा वास्तवमै नेपाली कविताको अतिरिक्त अभिलेख
पढेजस्तै लाग्थ्यो र त्यसबाट भोलि बास्ने बिहानप्रति आशाबादी हुन सकिन्थ्यो । यी कविहरु
कठघरामा पनि उभिए, काँडाकाँडामा टेकेर पनि हिँडे । २०३६ लाई जुरुक्कै
बोकेका उनीहरुले नेपाली कवितालाई नौलो मिठास पनि दिए । त्यसपछिको नेपाली कविता भाव,
शिल्प र विचार सबै पक्षमा झनै धनी हुँदै आयो । श्रवण मुकारुङ,
विप्लव ढकाल, भूपाल राई, विवश पोखरेल, कृष्ण प्रसाइ, चन्द्र
घिमिरे, प्रकाश सायमी, श्यामल, उपेन्द्र सुब्बा जस्ता कलम-शिल्पीहरुले काव्य-साधना गरेको यो कालले बिसे नगर्चीलाई
पुनर्जन्म दियो, च्याउको जंगल उमार्यो, गालीबको चिहान उधिन्यो,
भुइफुट्टा शब्दहरुलाई खेलाउदै खोलाको गीत गायो, डोन्ट टच मी भनेर कबितालाई नै ललकार्यो । कसैले बस्तीलाई नै निषिद्ध छ भने,
कसैले कविता गाउँमै छ भने । कसैले " जमीन हाँस्यो, आफुलाई किन्नेको, आयु सम्झेर" जस्ता अजम्मरी हाइकुहरु
लेखेर "घामको वर्षा" नै गराए । कसैले हतारमा यात्रा गरेर पनि फुर्सदिला छापहरु
छोडे भने कसैले प्रोफेसर शर्माको डायरी नै हराइदिए । ठूलै फूर्तिसाथ "अश्वमेध
यज्ञ" लगाउछु भन्दै दुबसुहरु आए, कान्छी राधाका फ्यान बनेर
धरावासीहरु आए, नदीभित्र आमा देख्ने रमेश श्रेष्ठहरु आए,
अर्को साँझसम्म पनि पर्खन नसकी घर फर्केका रमेश क्षितिजहरु आए,
अक्षरवर्षा गराउदै भीष्म उप्रेतीहरु आए, सन्ध्या
पहाडी आइन्, शहर खोज्दै र धरहरा नियाल्दै तीन वटी गीता (खत्री,
कार्की र पन्थ) हरु आए, शहर र देउता खोज्दै आकाशतिर
फर्केका भारती गौतम र भोजराज न्यौपाने पनि आए, विजय बजिमय आए,
उमेरको नदी बगाउदै निमेष निखिल आए, ल्याम्पपोष्टबाट
जून खसाउदै मनु मन्जिलहरु आए, आगतको ढाडमा वर्तमानको सर्प बेर्दै लेकालीहरु आए, गाउँको
शीतको कुरा गर्ने बिष्णु निष्ठुरी पनि आए र आफै सुकेर गए ।
नेपाली
कविताको पछिल्लो खण्ड ब्याप्ति र प्रस्तुती दुबैका दृष्टिले अझ अब्बल बन्दै गएको देखिन्छ
। राजा पुनियानीका कविता हुन् वा मनोज बोगटीका , चन्द्रवीर
तुम्बापोका हुन् वा देवी नेपालका, प्रकाश आङ्देम्बेका हुन् वा नवराज
लम्सालका, बिमला तुम्खेवाका
हुन् वा क्रिसु छेत्रीका सबैका कवितामा
जीवनका विविध रङहरु पोतिएका पाइन्छन् । चोटिलो अभिब्यक्ति, भिन्न
प्रकारका बिम्ब तथा प्रतीकहरु अनि अनौठो सन्देश पाइन्छन् यी स्रस्टाहरुका काव्य-सिर्जनामा
। सीमा आभासको स्वर चाहे टापुमा पुगोस् वा साँझको संघारमा, ज्योति
जंगल पहाडको मन लिएर बोलुन् वा मुक्त समय, हेमन्त बिवशको सैपालको
आँगन होस् वा हेमप्रभासको गीतै गीतको गाउँ; शहर पसेको मान्छे होस् वा आमेजन उँधो
बगोस, अबको कविता विश्वब्यापी भैसकेको छ । सरस्वतीको सारंगी
'बागी' होस् वा मीठो ध्वनि निकाल्ने खालको होस्,
हेमनको पहाडले उनैसित यात्रा गरोस् वा नगरोस, रमेश
सायन भागेर भूगोलभरि पुगुन् वा दीप्स शाहको मुस्कानी फूलमै अल्मलिउन्, धनकुटे कान्छाले इतिहास निफनुन् वा भूपिन हज्जार वर्ष सुतुन्, त्यस्ले अब केही फरक पार्दैन, किनकि यी कविताहरुले आफ्नो
शक्ति देखाइसकेका छन् । वर्षेनी पडोसीलाइ 'राम्रो' तार पठाउने त्यो 'जालिम' मुखिया,
लाउरे फूलको अर्को सँस्करण निष्प्रभ सजी, सौरभ
कार्की, अक्षरहरुमा रङ लगाउने मिस्त्री शेखर विकल्प, सानै उमेरमा सुदूरको सम्झना गर्ने स्वप्नील स्मृति, धुँवाको धागो तन्काउने निरज भट्टराई, मैच्याङ्को महाभारतीकरण
गर्ने फूलमान बल र राजधानीमास्तिर अर्को राजधानी बनाएर धरहरालाई समेत होचो बनाउने राबत
अब हाम्रा मूल्यवान सम्पदा भएका छन् । अब यी सबैलाई हाम्रो माया मात्र होइन,
पठनको पनि आवश्यकता छ । "
यसरी
एक कबिमन को नजरमा मात्र यती धेरै कबिता कृती परेको छ भने नेपालका तिन करोड भन्दा बढी
जनताको नजरले कती कबिता कृती र कबि देखेको होलान त ?नियात्राकार
तथा कबि प्रतीक ढकालको यो मिठो शैलीको कबि र कबिता कृतीको बारेमा पढ्दा मात्रै पनि
अनगिन्ती कबि र कबिता कृती देखीन्छ ।यो माहोलमा पनि शब्दहार प्रतीभाको खोजीमा छ ।यो
अभियान बिश्वब्यापी भएपनि मलेसीयालाइ नै पहिलो
ग्राहयता दिनु मलेसियामा रहनु भएको नेपाली कबि मनहरुको लागी गर्बको कुरा हो । नियात्राकार
तथा कबि प्रतीक ढकाल ले भन्नु भए झै पाठक को कमी पनि छ । र शब्दहारले मलेसियामा सायाद
पाठकहरु पनि देखेर यो कदम चालेको हुनु पर्छ । तर जे होस् शब्दहारको यो अभियान "मलेसियामा
कबि र कबिताको खोजी" लाइ भने सलाम गर्नै पर्छ । र मलेसियामा रहनु भएको कबिमन साथै
पाठकहरुले पनि यो अभियानमा साथ दिन जरुरी छ । नेपाली साहित्यको प्रखर बिधा कबितालाइ
जिवन्त राख्न नया प्रतिभा जन्मिन जरुरी छ । सबै सामु चिनाउन जरुरी छ । अत: यो अभीयानलाइ सफल पार्न तपाइ हामी सबैको खाचो हुनेछ ।मौका आउछ पर्खदैन,बगेको खोला फर्कदैन । चेतना भया !!!!
No comments:
Post a Comment